काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना भएको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र शाह (बालेन) ले, नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताउनुभयो । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।’

समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डंगोलले, लक्ष्यप्रति दृढ भएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले समीक्षा सञ्चालन गरेको हो । समीक्षाको शुरुवातमा एकाइका प्रमुख सुमित्रा लामिछानेले समग्र प्रस्तुति गर्नुभएको थियो । यस क्रममा सम्बन्धित विभागका प्रमुखहरुले आफूसँग सम्बन्धित विषयमा स्पष्ट पार्नुभएको थियो ।
चालु आर्थिक वर्षको यस अवधिमा महानगरपालिकाले ४०.६६ किलोमिटर सडक कालोपत्रे, १०.३२ किलोमिटर सडक ढलान र ४१.३२ किलोमिटर सडकमा ब्लक छापेको छ । १२.१६ किलोमिटर ढल राखेको छ । १६ वटा भवन र ९ वटा पार्क निर्माण गरेको छ ।

अफिस अटोमेसन कार्यान्वयनमा ल्याइएको छ । यसबाट टिप्पणी, दर्ता चलानी अनलाइन प्रणालीबाट सञ्चालन हुने गरेको छ । इअफिसका लागि ४७८ वटा डिजिटल सिग्नेर प्रयोगमा ल्याइएको छ । महानगरपालिकाका ८५ वटा सेवा केन्द्रलाई इन्ट्रानेटबाट जोडिएको छ ।
सहरी योजना आयोगबाट ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । १० करोड रुपैयाँभन्दा धेरै लागत भएका १५ वटा, १० करोड रुपैयाँसम्मका २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिद सम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावहरुको मूल्याङ्कन र सम्झौता भएको छ ।
एकल सेवा केन्द्रमा विद्युतीय प्रणालीमा दर्ता गरेर ९ हजार ६०९ वटा निवेदनहरु सम्बन्धित विभागमा पठाइएको छ । १५ हजार जना सेवाग्राहीलाई सोधपुछमार्फत सेवा सम्बन्धी सहजीकरण गरिएको छ । एकल सेवा केन्द्रसँगै रहेका कक्षहरुबाट ४६५ जनालाई प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । केन्द्रमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया, कफी र पानी उपलब्ध गराइएको छ ।
श्रम वैङ्कबाट ६ सय ४ जनालाई रोजगारी दिइएको छ ।

खाद्य स्वच्छता मापन प्रयोगशाला स्थापना गरिएको छ । ५ चरणमा खाद्य स्वच्छता बुट क्याम्प सम्पन्न गरिएको छ । पानीको भौतिक, रसायनिक र जैविक परीक्षण गरेर व्यवसायीलाई सचेत गराइएको छ । १२ वटा सहकारीको गैरस्थलगत अनुगमन गरिएको छ । ११८ वटालाई कारवाहीका लागि प्रहरीमा पठाइएको छ ।
५९ वटा विद्युतीय, २ वटा ग्याँसजन्य र अरु १२ वटा आगलागीका घटना व्यवस्थापन गरिएको छ । ७५ वटा जोखिमपूर्ण रुख कटान गरिएको छ । १२ वटा वडामा ड्राइ राइजर जडान गरिएको छ । सामुदायिक विद्यालयहरुमा इहाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बुक फ्री फ्राइडे कार्यक्रमका विषयहरुमा पाठयक्रम तर्जुमा गरिएको छ । प्रयोगशालाहरु निर्माण गरिएको छ ।
बाल उद्धार कार्यदल र घटना व्यवस्थापन उपसमिति गठन गरिएको छ । चालु आर्थिक वर्षमा १७२ जना थपसहित १ हजार ७१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । ६३ वटा संस्था दर्ता गर्न र १ हजार ५०४ वटा संस्थालाई नविकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शिफारिस गरिएको छ । एक वडा एक नमूना कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ११ वटा वडा कार्यक्रम सञ्चालन प्रारम्भ गरिएको छ ।
४५ हजार व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गरिएको छ ।
२८८ वटा सडक अतिक्रमण हटाइएको छ । अनधिकृत पार्किङ् गर्ने १० हजार ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सचेत गराइएको छ । ९४ वटा फोहरमैला अनुगमन गरिएको छ । ३ वटा प्रदुषण नियन्त्रणका काम भएका छन् । अनधिकृत कार्यमा प्रयोग भएका साइकल र गाडा गरी २६३ वटा जफत गरिएको छ ।
चालु आर्थिक वर्षमा महानगरपालिकाले २४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा यो रकम खर्च हुन्छ ।
चालु आर्थिक वर्षको आय १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । यसमा आन्तरिक आय ८ अरब ३५ करोड ७९ लाख रुपैयाँ हो । राजस्व बाँडफाँडबाट २ अरब ५० करोड २७ लाख रुपैयाँ, समानीकरण अनुदानबाट ७ अरब ७० करोड रुपैयाँ र सशर्त अनुदानबाट १ अरब ५९ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।






