३० कात्तिक, काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।
प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ ।
विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ । मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो । १८ जना अझै बेपत्ता छन् । १ सय ७७ घाइते भएका थिए ।
पूर्वाधारमा ३९ अर्ब क्षति
प्राधिकरणका अनुसार बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबर क्षति भएको देखिएको छ । बाढीले देशभरि ४४ पुलमा क्षति गरेको थियो । जसको आर्थिक क्षति १ अर्ब ४ करोड बराबर छ ।
त्यस्तै दूरसञ्चारका ४ सय ४६ संरचनामा क्षति पुगेको छ । जसको आर्थिक क्षति १५ करोड २३ लाख बराबर देखिन्छ । खानेपानी र सरसफाइमा १ हजार ६ सय ७८ संरचनामा क्षति पुगेको छ । जसको क्षति ५ अर्ब ९० करोड ६० लाख बराबर छ । जलविद्युतका २६ संरचनाको क्षति हुँदा ३ अर्ब १ करोड बराबर छ ।4
त्यसैगरी सडकमा २ अर्ब ७९ करोड बराबर क्षति पुगेको देखिएको छ । देशभरि सडकमा ४१ स्थानको संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड बराबर क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । सार्वजनिक भवनमा ९ करोड ५० लाखसहित पूर्वाधारमा कुल ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर क्षति पुगेको छ ।