नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा साँझ सवा ६ बजेसम्म दुई हजार मत खसेको छ ।
निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको जानकारी दिएका हुन् । हाल राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सभापतिमा प्रधामन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला उमेदवार रहेका छन् ।
सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।
मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मतदान आज साँझ ८ बजेसम्म सकिने अनुमान गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य यगराज पोखरेलले जानकारी दिए । दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।