Latest Posts

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ ।

शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार गत साउनमा पुँजीगत लाभकर ३ अर्ब २१ करोड थियो । भदौमा घटेर २ अर्बमा झर्यो । ‘असोजमा एक अर्ब हाराहारीमा भएकोमा अहिले त्यो पनि घटेर कात्तिकमहिनामा एक अर्बभन्दा कम छ,’ आचार्यले भने ।

पछिल्लो समय साच्चिकै बजारमा चाम घटेको तथ्यांकले नै पुष्टि गर्छ । कुनै बेला ३ हजार २ सय अंकमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से परिसूचक बिहीबारसम्म घटेर २ हजार ४ सय ४९ अंकमा झरेको छ । ६ महिनामा नै यति ठूलो गिरावट आएको हो । उच्च बिन्दु भन्दा नेप्से परिसूचक अहिले ५ सय ५१ अंकले घटेको छ ।

नेप्से परिसूचकमात्रै होइन शेयर लगानीकर्ताहरुको पुँजीकरण समेत १० खर्ब भन्दा धेरैले घटेको छ । ६ महिना अघिमात्रै ४४ खर्बमा पुगेको लगानीकर्ताहरुको पुँजीकरण अहिले घटेर ३४ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ । दैनिक कारोबार रकम रकममा समेत निकै ठूलो गिरावट आएको छ । कुनैबेला एकैदिन करिब २२ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबारको तथ्यांक लिने हो भने जम्मा २ अर्ब ६७ करोड रुपैयाँमात्रै भएको छ । कारोबार संख्या पनि कुनै बेला दिन ३ लाखसम्म पुगेकोमा अहिले ४१ हजारमा घटेको छ ।

बजारमा यति ठूलो असर कसरी गर्यो त ? नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली अहिले पुँजीकरण लगायत सबै सूचकहरुमा गिरावट आउनुको कारण नेप्से परिसूचक नै भएको बताउँछन् । उनका अनुसार नेप्से परिसूचक लगातार घट्दा लगानीकर्ताहरुले कारोबार गर्न पनि हौसिदैनन् । बजार घटिरहदा लगानीकर्ताहरु धेरैजसो पर्ख र हेरको अवस्थामा बस्छन्, जसको असर कारोबार संख्या र कारोबार रकममा समेत पर्ने उनले बताए ।

हेर्नुस् बजारमा परिवर्तन भएका सूचकहरु 

सूचकहरुहालसम्मको रेकर्डअहिलेको अवस्था
नेप्से परिसूचक३२००२४४९
कारोबार रेकर्ड२२ अर्ब (दैनिक)२ अर्ब ६७ करोड (दैनिक)
कारोबार संख्या३ लाख४१ हजार
पुँजीकरण४४ खर्ब३४ खर्ब

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अहिले साना लगानीकर्ताहरुको संख्या पनि घटेको बताउँछन् । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । अहिले कुनै एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र धेरै संस्थाबाट बढीमा १२ करोड रुपैयाँमात्रै यस्तो ऋण लिन पाउने व्यवस्था छ । यसले अहिले बजारमा चाम घटेको पूर्व अर्थमन्त्री पाण्डेको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै उनले साना लगानीकर्ताहरुमा उत्साह घटेको भन्दै उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । पूर्वमन्त्री पाण्डेले अस्वाभाविक मूल्य बढ्नेतर्फ भने ध्यान दिनु पर्ने बताए ।

लगानीकर्ताको दोष राष्ट्र बैंकमाथि, गभर्नर भन्छन्- बुझेर लगानी गरौं

अहिले बजार किन घटिरहेको छ ? धेरै लगानीकर्ताहरुको सामान्य जवाफ हो– राज्य र निकायको नीति । लगानीकर्ताहरुले सरकार र नेपाल राष्ट्र बैंकको शेयर बजारप्रति हेर्ने दृष्टिकोण र बनाइने नीतिको कारण बजार घटेको निश्कर्ष निकालेका छन् । राष्ट्र बैंकले शेयर बजारमा जाने कर्जाको सीमा अत्यधिक घटाएका कारण बजार घटेको भन्दै लगानीकर्ताहरु आन्दोलनको तयारीमा छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिका पौडेल राज्यको नीतिकै कारण बजार घटेको बताउँछन् । शेयर बजारमा पुराना र निकै अनुभवी मानिने पौडेलको बुझाइमा सरकार र राष्ट्र बैंकको पुँजीबजारप्रति हेर्ने दृष्टिकोण नै गलत छ ।

स्वाभाविक रुपमा हुने क्रिया र प्रतिक्रियालाई हामी स्वीकार्छौं, स्वीकार्नु पर्छ,’ उनी भन्छन्, ‘तर अस्वाभाविक रुपमा हुने सरकारको प्रतिक्रिया सहन गाह्रो परेको छ, टेक्ने हाँगो नैै भाँचिएर अडिएको अवस्थामा लगानीकर्ताहरु पुगेका छन् । चलिरहेका उद्योग व्यवसायहरुबाट नयाँ उद्योग व्यवसायहरु विस्तार गर्ने क्षेत्र भनेको पुँजी बजार नै भएको भन्दै उनले यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमा त्रैमासिक समीक्षामा परिवर्तन हुने अपेक्षा गरिएको थियो । दुई साता पहिले भएको समीक्षामा राष्ट्र बेंकले शेयर धितो कर्जाको विषयमा केही बोलेन । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘अहिले परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नदेखिएकाले समीक्षा नभएको हो ।’

मौद्रिक नीतिको समीक्षा पछि शेयर बजार लगातार घटिरहेको छ । नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारी राष्ट्र बैंकले नीति सच्याउनु पर्ने बताउँछिन् । लगानीकर्ताहरुको निकै ठूलो रकम जोखिममा परेको भन्दै उनले तत्काल नीति सच्याएर लगानीको सहज र राम्रो वातावरण बनाउनु पर्ने धारणा छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने राम्रोसँग बुझेर लगानी गर्ने हो भने समस्या नहुने बताए । बिहीबार संसदको अर्थसमितिमा बोल्दै उनले सर्वसाधारणमा शेयरबारे सचेतनाको आवश्यकता रहेको बताए । उनले भने, ‘बजारमा बुझेर लगानी गर्नुपर्छ, नबुझी लगानी गरे समस्या हुन्छ, यो विषयमा पव्लिक अवार्नेस आवश्यक छ ।’

उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयर बजारमा लगानी ओइरिएकाले बजार उच्च बिन्दुमा पुगेको बताए । गभर्नर अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । गभर्नर अधिकारीले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वाभाविक नभएको बताए ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img