पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ छन् । उनी अस्वस्थ भएकै कारण प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी हुन सकेनन् ।
अचानक अस्वस्थ भएका ओली नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुने या नहुँने भन्ने चौतर्फि चासो भइरहेको छ । ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? भन्ने जिज्ञासा उत्पन्न भइरहेको छ ।
यद्यपि बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।
यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने बताएका थिए । ओलीको आतिथ्य निश्चित गर्न गएका महतले पनि एमाले अध्यक्ष सहभागी हुने बताएका छन् ।
एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव नेपाल समूहले निर्णायक कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।
शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने पक्कापक्की भएको छ । रुघाका कारण स्वास्थ्यमा समस्या भए पनि ओली कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको उनको सचिवालयले जनाएको छ ।
ओलीको यस्तो आश्वासनसँगै उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ ।
पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउन कांग्रेस महाधिवेशनको उद्घाटनसत्र सफल होला कि नहोला भन्ने चासो समेत भइरहेको छ ।
ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन । नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् ।
नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् । यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने–सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान्।






