२९ कात्तिक, काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे ।
अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ । धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै च्यानलमा अपलोड गर्ने गरेका छन् ।
युट्युबमा हरेक दिनजसो नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका हुन्छन् । सार्वजनिक भएकामध्ये धेरै गीतले राम्रो भ्युज भने पाउन सकिरहेका हुँदैनन् । तर, केही गीतहरुले भने स्रोता/दर्शकको मन जित्दै युट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् । ती गीतहरुले लगानी कटाएर नाफा समेत गरिरहेका हुन्छन् ।
एक साताअघि मात्रै ‘रमरम मरौटी’बोलको गीतको भिडियोले युट्युबमा एक करोड भ्युज पार गर्यो । सार्वजनिक भएको एक महिनाको अवधिमा खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनय रहेको गीतको भिडियोलाई एक करोड बढी पटक हेरिएको हो । यो गीतको भिडियो ‘ओबी रायमाझी’को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
त्यस्तै, एक साताअघि नै ‘पिपल छेउमा बर’ बोलको गीतको भिडियोको भ्युज एक करोड पुग्यो । प्रविशा अधिकारी र रोशन सिंहको स्वर तथा विमल अधिकारी र अनु शाहको अभिनय रहेको गीतको भिडियो भने गत वर्ष सार्वजनिक भएको हो । यो मोडल विमल अधिकारीको म्युजिक कम्पनी ‘भावना म्युजिक सोलुसन’ मार्फत सार्वजनिक गीत हो ।
यी दुई गीत पछिल्लो समय करोड क्लबमा प्रवेश गरेका प्रतिनिधि गीतहरु हुन् । यसअगाडि दर्जनौं गीतले युट्युबमा करोड भ्युज पार गरिसकेका छन् ।
युट्युबमा गीतको भ्युज १ करोड हुँदा कमाई कति हुन्छ ? लगानीकर्ताहरुका अनुसार युट्युबबाट हुने आम्दानीमा एकरुपता हुँदैन । ‘रमरम मरौटी’ले एक करोड भ्युज पुग्दा कति आम्दानी गर्यो ? लगानीकर्ताले नखुलाएपनि ‘पिपल छेउमा वर’बाट झण्डै पाँच लाख रुपैयाँ आम्दानी भएको विमल अधिकारीले बताए । म्युजिक भिडियोमा युट्युबको कमाइबारे भने, ‘नोभेम्बर–डिसेम्बरमा अपलोड गरेका भिडियोबाट अलि धेरै आम्दानी हुन्छ । जनवरीपछि फेरि युट्युबबाट हुने आम्दानी घट्छ ।’
भिडियोको समयले पनि आम्दानीमा फरक पार्ने उनी बताउँछन् । त्यस्तै, कुन देशबाट बढी हेरियो भन्नेले कुराले पनि आम्दानीमा फरक पार्ने उनको भनाइ छ । नेपालबाट भन्दा विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी बढी हुन्छ । नोभेम्बर–डिसेम्बरमा गुगल विज्ञापन बढी हुने हुँदा धेरै आम्दानी हुने अधिकारीले बताए ।






